नियम १६
इजाजतपत्र प्राप्त कम्पनीले पालना गर्नु पर्ने शर्तहरु

(१) यस नियमावलीमा अन्यत्र उल्लिखित शर्तहरुको अतिरिक्त इजाजतपत्र प्राप्त कम्पनीले देहायका शर्तहरु पालना गर्नु पर्नेछ ः–
(क) आफ्नो सम्पूर्ण कारोवार कम्पनीको नामबाट गर्नु पर्ने,
(ख) खेलाडीलाई ऋण वा सापटी दिई खेल खेलाउन नहुने,
(ग) क्यासिनो स्थलभित्र अनैतिक, अमर्यादित वा आपराधिक क्रियाकलाप हुन नदिने,
(घ) नेपाली परम्परा, संस्कृति र सामाजिक मर्यादाको प्रतिकूल हुने गरी खेल खेलाउन नहुने,
(ङ) शंकास्पद व्यक्ति क्यासिनो स्थलमा भेटिएमा तत्काल प्रहरीलाई जानकारी दिनु पर्ने,
(च) क्यासिनो स्थलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको अनुहार प्रष्ट खिचिने गरी र सो स्थलभित्र खेल खेलेको गतिविधि देखिने गरी सि.सि.टि.भि. जडान गर्नु पर्ने,
(छ) खण्ड (च) बमोजिमको सि.सि.टि.भि. को अभिलेख छ महिनासम्म सुरक्षित राख्नु पर्ने र मन्त्रालयले माग गरेमा उपलब्ध गराउनु पर्ने,
(ज) खेलाडीलाई उपलब्ध गराउने पानी, पेयपदार्थ तथा खानाको गुणस्तर कायम गर्नु पर्ने,
(झ) क्यासिनोलाई प्रोत्साहन हुने गरी प्रचार, प्रसार तथा विज्ञापन गर्न नहुने,
(ञ) कम्तीमा पचासजना व्यक्तिलाई क्यासिनोमा रोजगार दिएको हुनु पर्ने,
(ट) शान्ति सुव्यवस्थामा खलल हुने तथा सार्वजनिक हित र नैतिकता विरुद्धका कुनै कृयाकलाप गर्न नहुने,
(ठ) मन्त्रालय र वित्तीय जानकारी इकाईले समय समयमा दिएको निर्देशन पालना गर्नु पर्ने ।
(२) मन्त्रालयले इजाजतपत्र दिंदा कुनै शर्त तोकेको भए इजाजतपत्र प्राप्त कम्पनीले त्यस्तो शर्त समेत पालना गर्नु पर्नेछ ।